काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै आपत्ति जनाएको छ। पार्टी तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।
प्रचार विभाग प्रमुख तथा आम निर्वाचनका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “प्रविधिको प्रयोग गैरजिम्मेवार र गैरराजनीतिक ढंगले भएकोप्रति हाम्रो पार्टीको विरोध छ। विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारहरूको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ।”
एमालेको निर्वाचन चिन्ह परिवर्तन गरिएको जस्ता भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो–कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गालीगलौज, अमर्यादित तथा असभ्य शब्द प्रयोग गर्दै व्यक्तिगत मर्यादा र स्वतन्त्रताको उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण गरिएकोप्रति एमालेले आपत्ति जनाएको छ।




















