काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार पौडेलसहित निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभाग प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध मुद्दा दायर गरिएको हो।
उनीहरूले उद्योग सञ्चालनका क्रममा ठेक्का, खरिद तथा व्यवस्थापन प्रक्रियामा अनियमितता गरी ठूलो रकम हिनामिना गरेको अख्तियारको आरोप छ। आयोगका अनुसार उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।
सुरेन्द्रकुमार पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ भने अन्य प्रतिवादीहरूमाथि ४६ करोड ५२ लाख रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग दर्ता गरिएको अख्तियारले जनाएको छ।




















