
काभ्रे । प्रतिनिधिसभा सदस्य निर्वाचन काभ्रे क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना र जनमुखी नेतृत्वको प्रतिबद्धतासहित मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्।
गुणस्तरीय शिक्षा, किसानमुखी कार्यक्रम, सुलभ स्वास्थ्य सेवा र युवा केन्द्रित नीति आफ्ना प्रमुख संकल्प रहेको लामाले बताएका छन्। युवालाई रोजगारी, देशको समृद्धि र बलियो राष्ट्रियता एमालेको मूल नीति भएको उल्लेख गर्दै उनले परिवर्तनका चुनौती स्वीकार गर्दै जिम्मेवारी र साहसका साथ जनताको भविष्य उज्यालो बनाउने संकल्प व्यक्त गरे।
पार्टीको केन्द्रीय कमिटी सदस्यसमेत रहेका लामा जिल्लाको विकाससँगै जनजीवन सहज बनाउन उद्यमशीलतामा जोड दिने योजनामा छन्। एमाले युवालाई जिम्मेवारीसहित देश निर्माणमा अघि बढाउने पार्टी भएको उदाहरणीय काममार्फत स्थापित गराउने आफ्नो चाहना रहेको उनले बताए।
पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्ट व्यवसायमा आबद्ध लामा युवालाई रचनात्मक, सिर्जनशील र आत्मनिर्भर बनाउने योजनाबद्ध विकासको बाचा गर्छन्।
खानीखोला गाउँपालिका–तालढुंगामा आयोजित कार्यक्रममा उनले आफू पद, पैसा वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको विश्वास जित्न चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
“म बाहिरबाट आएको मान्छे होइन, यही माटोमा हुर्किएको, यही समाजसँग दुःख–सुख बाँडेको तपाईंहरूमध्ये एक हुँ,” उनले भने।
डाँडापारि क्षेत्रले भोग्दै आएको पीडा आफूले नजिकबाट देखेको र यहाँ लुकेका सम्भावनालाई राम्ररी चिनेको उल्लेख गर्दै उनले योजनाबद्ध विकासमार्फत परिवर्तन सम्भव रहेको धारणा राखे।
“यहाँ अभाव छन् तर क्षमता ठूलो छ, समस्या छन् तर समाधान सम्भव छन्,” उनले भने।
मत माग्दै लामाले खानीखोलावासीलाई एकजुट भएर परिवर्तनका लागि अघि बढ्न आह्वान गरे। कच्ची सडकलाई पक्की बनाउने, शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्ने तथा खानेपानी समस्याको समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता उनले जनाए।
“खानीखोला बिकट होइन, सम्भावनाले भरिपूर्ण भूमि हो। तपाईंहरूको साथ र सहयोगले यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ,” उनले भने।
यसैबीच, काभ्रे–१ का उम्मेदवार लामालाई विजयी गराउन आग्रह गर्दै गोविन्द तामाङले अमित लामा निडर, इमानदार र संघर्षशील युवा नेता भएको बताए। संकटको घडीमा पार्टी, देश र जनताको पक्षमा अग्रपंक्तिमा उभिने क्षमता र राष्ट्रप्रेम नै उनको परिचय भएको तामाङको भनाइ छ।
लामाले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने र आधारभूत स्वास्थ्य सेवा गाउँटोलमै उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्। विशेषज्ञ सेवा जिल्ला स्तरमै दिने वातावरण निर्माण गरिने उनको भनाइ छ।
यसै क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशी युवालाई काभ्रे–१ का उम्मेदवार लामा स्वयंले पार्टीमा स्वागत गरेका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नं. १ मा नेकपा माओवादीका उम्मेदवार सूर्यमान दोङ ३४ हजार ५१२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामा ३० हजार ५४८ मतसहित दोस्रो भएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले ८ हजार ६९७ मत प्राप्त गरेका थिए।
त्यसबेला माओवादी–नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन हुँदा पनि एमालेले थोरै मतले हारेको थियो । यस पटक सबै दल छुट्टाछुट्टै चुनावी मैदानमा रहेकाले एमाले उम्मेदवार लामाको अत्याधिक मतका साथ विजयी हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।





















