काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले एक महिना लामो स्वस्थानी व्रत आज (आइतबार) समापन गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक व्रत कथा पढ्ने र सुन्ने परम्परालाई निरन्तरता दिँदै आएका भक्तजनहरूले आज व्रतको अन्तिम दिन विभिन्न पवित्र स्थलहरूमा पूजा-अर्चना गर्दै समापन गर्दै छन् । समापनमा काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट र भक्तपुरको हनुमानघाटमा बिहानैदेखि व्रतालु र भक्तजनको भिड लाग्ने गर्दछ । यहाँ भक्तजनहरूले पारम्परिक रूपमा माधवनारायणको जलप्रसाद ग्रहण गर्दै व्रत समापन गर्ने गर्दछन् ।
शालीनदीमा रहेका व्रतालुहरू विभिन्न जिल्लाबाट आएर माघ महिनामा ‘स्वामी’ भनेर चिनिने माधवनारायणको पूजा गरी व्रतको समापन गर्दै छन् । व्रतालुले विगत पुस शुक्ल पूर्णिमादेखि निराहार बसेर व्रतको आरम्भ गरेका थिए र अब व्रतको समापनसँगै आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजा–अर्चना सम्पन्न गर्नेछन् ।
स्वस्थानी व्रतकथा बाचनको परम्परा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि निराहार बसेर व्रत गर्दा उहाँको मनोकांक्षा पूरा भएको कथाअनुसार चल्दै आएको छ । यस परम्परालाई आजसम्म निरन्तरता दिँदै, व्रतालुहरूले व्रतको कथा सुन्ने, बाचन गर्ने र पूजाआजा गर्ने चलन कायम राखेका छन् ।
हरेक दिन नछुटाइ पढ्ने र सुन्ने गरिएको स्वस्थानी व्रतकथाको समापनका लागि अन्तिम दिन सांगे गरिन्छ । पूजामा स्वस्थानी परमेश्वरीलाई चढाउने १०८ अक्षतासहित त्यति नै संख्यामा बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, एवं मौसम अनुसारका फलफूलहरू सहित पूजा सामग्रीहरू तयार पारिन्छ । साथै १०८ रोटीहरू पनि पकाइन्छ । पूजाका क्रममा स्थापना गरिएको शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानी परमेश्वरीको विशेष पूजा गरिन्छ । पूजा समापनसँगै जुन कामनाले व्रत गरेको हो सोही कामना पूरा होस् भन्दै अर्घ दिइन्छ । श्रद्धा भक्तिपूर्वक सम्पन्न गरिएको स्वस्थानी व्रत सांगे समाप्त भएपछि व्रतभरी प्रयोग गरिएका र जम्मा भएका फूलपाती तथा अन्य पूजा सामग्रीहरूलाई तलाउ, खोला, नदी तथा सागरहरूमा लगेर सेलाउने चलन रहेको छ । १०८ वटा जनै, सुपाडी र रोटीमध्ये आठवटा आफ्ना पतिलाई, पति नभएमा छोरालाई, छोरा नभए मित छोरालाई र मित छोरा पनि नभए फूलपातीसँगै लगेर सेलाउने चलन रहेको छ ।
व्रत समापनका दिन काठमाडौंको साँखुस्थित शालीनदी, पशुपतिनाथ, गौरीघाटलगायत सतिदेवीका अंगपतन भएका पवित्र पीठस्थलहरुमा व्रतालु एवं सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । आज शालीनदीमा मेला भर्न हजारौँ भक्तजन पुग्ने गर्दछन् । स्वस्थानी व्रत सुरु भएदेखि खुल्ला गरिएको शालीनदीस्थित माधवनारायणको मन्दिर पूजा समापन भएपछि बन्द गरिन्छ ।
एक महिनाभरि प्रत्येक बिहान नुहाई धुवाई गरी श्रीस्वस्थानीको पूजा गरी एकछाक शुद्ध भोजन गरी ब्रत समापन गरिएको हुन्छ । श्री स्वस्थानीको व्रतको प्रभावले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । सत्य युगमा हिमालय पर्वत पुत्री पार्वतीले महादेव पति पाऊँ भनी निराहार रही श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको पौराणिक लिखत रहेको छ । पछि यसै महत्वपूर्ण व्रतलाई गरिब तथा दुःखीहरूको उद्धार र लोककल्याणका निम्ति प्रचारप्रसार गराई विस्तार गरिएको विश्वास गरिएको छ । त्यही भएर व्रत लिएका अविवाहित युवतीहरूले योग्य पति/वर पाऊँ भन्ने मनोकांक्षा राख्दछन् भने विवाहित महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै श्री स्वस्थानीको व्रत लिने गर्छन् ।
धार्मिक आस्था र परम्परालाई मध्यनजर गर्दै भक्तजनहरूले आज व्रत समापन गर्ने क्रममा आफ्नो स्वास्थ्य र सुरक्षा प्रति सचेत रहँदै श्रद्धापूर्वक पूजा-अर्चना गरिरहेका छन् । व्रत समापनसँगै विभिन्न स्थानमा दान–पुण्य र प्रसाद वितरण गर्ने गरिन्छ । स्वस्थानी व्रतको समापनले भक्तजनहरूका लागि धार्मिक आस्था र सांस्कृतिक परम्परालाई बलियो बनाउने अवसर प्रदान गरेको धार्मिक विश्लेषकहरूले उल्लेख गरेका छन् ।




















