काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुरानै राजनीतिक दलहरूसँग प्रतिस्पर्धा हुने जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा मुख्यत: पुरानै दलहरूबीच हुने धारणा व्यक्त गरे।
“यो गम्भीर विषय हो र अन्तिम निर्णय मतदाताले भोटमार्फत गर्ने कुरा हो,” चालिसेले भने, “तर प्रतिस्पर्धा पुरानै पार्टीबीच हुने देखिन्छ।”
उनले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संगठनात्मक संरचनासहित निर्वाचन अभियानलाई तीव्र बनाइएको पनि जानकारी दिए।
१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै चालिसेले पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकता दिँदै जनतामा विश्वास र भरोसा स्थापित गर्ने गरी चुनावी अभियान सञ्चालन गरिने बताए।






















