काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह र श्रम तथा संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङसहित तीन जनाभन्दा बढी उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत हुने गरी प्रचारप्रसार गरेको तथा एक–अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको भन्ने उजुरी परेपछि स्पष्टिकरण सोधिएको हो। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र पठाएको जनाएको छ।
निर्वाचन आयोगको आचारसंहिता हेर्ने शाखा स्रोतका अनुसार मंगलबार तीन जनाभन्दा बढी उम्मेदवारलाई आचारसंहिता उल्लंघनको विषयमा पत्र काटिएको हो।
आयोगको प्रारम्भिक ठहरअनुसार बालेन शाहको ‘भिजुअल पोस्ट’ तथा अन्य उम्मेदवारका उत्तेजक अभिव्यक्तिले चुनावी निष्पक्षतामा असर पारेको देखिएको छ। आयोगले जवाफ चित्तबुझ्दो नभए निर्वाचन ऐनअनुसार कारबाही हुने चेतावनी दिएको छ।




















