काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद राजेन्द्र बजगाईँले पार्टीभित्रका केही व्यक्तिका कारण आफू कांग्रेस छाड्ने मनस्थितिमा पुगेको बताएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा धारणा सार्वजनिक गर्दै बजगाईँले भारी मनका साथ कांग्रेससँगको सम्बन्ध अन्त्य गर्ने सोच बनाएको उल्लेख गरेका छन्। ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने निष्कर्षमा पुगेको छु। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ उनले लेखेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित बजगाईँ पछिल्लो समय पार्टी सभापति गगन थापासँग असहमति जनाउँदै आएका थिए। उनले थापा सभापति बनेमा आफ्नो टिकट रोकिने र प्रधानमन्त्री बनेमा झुटा मुद्दा लगाइने चेतावनी आफूले पहिले नै दिएको दाबी गरेका छन्।
‘तिमी सभापति भयौ भने मेरो टिकट रोक्नेछौ र प्रधानमन्त्री भयौ भने झुटा मुद्दा लगाउनेछौ भन्ने कुरा मैले पहिले नै स्पष्टसँग भनेको थिएँ,’ बजगाईँले उल्लेख गरेका छन्।
उनले कांग्रेसका धेरै नेता तथा कार्यकर्ता निष्ठावान् रहे पनि मुठ्ठीभर व्यक्तिहरूले पार्टीभित्रका इमानदार कार्यकर्तामाथि शासन गरिरहेको आरोप लगाएका छन्। साथै गगन थापामाथि विदेश नीतिमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै भनेका छन्, ‘चीन भने चीन ठीक भनेको छ, भारत भने भारत ठीक भनेको छ, अमेरिका भने अमेरिका ठीक भनेको छ। यस्तो पनि कहीँ हुन्छ ?’
यसपटकको निर्वाचनमा बजगाईँले प्रतिनिधित्व गरेको गोरखा–१ मा कांग्रेसले प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ। बजगाईँ विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए पनि निर्वाचन प्रक्रियामा भने सहभागी भएका थिएनन्।
‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति म हुँ। पार्टी सुधारका लागि विशेष महाधिवेशन हुन्छ भन्ने अपेक्षा थियो, तर त्यो हुन सकेन। हाम्रा एजेन्डा हाइज्याक गरिएका छन्। अब म सर्लाही–४ पुगेर सबै कुरा सार्वजनिक गर्छु,’ बजगाईँले बताएका छन्।




















