काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण कार्यक्रम हाललाई स्थगित गरिएको पार्टीले जनाएको छ।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा त्यससँग जोडिएको राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले जारी गरेको परिपत्रको सम्मानस्वरूप सभा स्थगित गर्ने निर्णय गरिएको हो।
यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा नेता–कार्यकर्ता र समर्थक सहभागी गराएर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने तयारी गरेको थियो। तर निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने अवस्था देखिएपछि पार्टीले कार्यक्रम रोक्ने निर्णय गरेको जनाएको छ।
‘निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो कानुनी तथा नैतिक दायित्व हो,’ प्रचार विभाग प्रमुख गुप्ताले भने, ‘आयोगको पछिल्लो निर्देशनअनुसार पूर्वनिर्धारित कार्यक्रम हाललाई स्थगित गरी उपयुक्त समयमा आयोजना गर्ने निष्कर्षमा पुगेका छौँ।’
सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। अन्तिम समयमा कार्यक्रम स्थगित भएपछि स्थानीय कार्यकर्तामा केही अन्योल देखिएको छ।




















