काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने एजेन्डासहित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
शुक्रबार दिउँसो नवनिर्वाचित सभापति थापाको अध्यक्षतामा बैठक सुरु भएको हो। थापा सभापति निर्वाचित भएपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बसेको हो।
यसअघि सभापति थापा केन्द्रीय कार्यालय नजाँदा कांग्रेस केन्द्रीय कार्यसमितिका बैठकहरू बाहिरै आयोजना हुँदै आएका थिए।
आजको बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहेको छ। बैठकको मुख्य एजेन्डा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने रहेको छ।
यसअघि बैठक सुरु हुनुअघि सभापति थापाले केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए। सो अवसरका लागि केन्द्रीय कार्यालयमा उनका लागि कार्यकक्षसमेत तयार गरिएको थियो।




















