काठमाडौं । सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दर्ता गराउन भूमिका खेलेका नेकपा नेता हरिबोल गजुरेलले आफूले पूर्वको केन्द्र मानिने सिन्धुली जिल्लाबाट विद्रोहको झण्डा उठाएको बताएका छन्।
शुक्रबार साँझ करिब दुई घण्टा गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका थिए। सो छलफलमा प्रचण्ड–माधवले गजुरेललाई काठमाडौं बोलाएर महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए।
तर, सिन्धुली–२ मा गजुरेल स्वयं प्रस्तावक बसेर दर्ता गराइएको महेश्वर दाहालको बागी उम्मेदवारी फिर्ता नगर्ने अडान आफूले राखेको गजुरेलले बताए।
उनका अनुसार छलफलका क्रममा आफूहरूले राजन दाहालको उम्मेदवारी फिर्ता गराएर सहकार्य गर्न प्रस्ताव राखे पनि नेतृत्वबाट उल्टै महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो। उम्मेदवारी फिर्ता नगरे कारबाहीको चेतावनीसमेत दिइएको गजुरेलको दाबी छ। उनीहरूबीच करिब डेढ घण्टा लामो छलफल भएको थियो।
पार्टीभित्र स्वेच्छाचारिता, निरंकुशता र परिवारवाद हाबी भएकै कारण आफूहरू विद्रोहमा उत्रिएको गजुरेलको भनाइ छ। उनले सिन्धुलीबाट उठाइएको विद्रोहको प्रभाव अन्य जिल्लामा पनि फैलिने दाबी गरे।
गजुरेलले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आँट गरेरै सफलता हासिल गरेको उदाहरण दिँदै आफू पनि लड्ने र सफल हुने कुरा प्रचण्ड र माधव नेपाललाई स्पष्ट रूपमा सुनाएको बताएका छन्।
उनले उम्मेदवार सिफारिस प्रक्रियामा नेतृत्वले मनोमानी गरेको आरोप पनि लगाए। उनका अनुसार उम्मेदवार सिफारिस कार्यदलले क्षेत्र नम्बर १ मा राजन दाहाल र क्षेत्र नम्बर २ मा हरिबोल गजुरेललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो भने महेश्वर दाहालको नाम चौथो स्थानमा थियो। तर नेतृत्वले सिफारिस लत्याउँदै राजन दाहाललाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको उनले बताए।
यस विषयमा जिल्ला कमिटीले एकमतले निर्णय पुनर्विचार गर्न आग्रह गर्दै नेतृत्वलाई अनुरोध गरेको पनि गजुरेलले जानकारी दिए। सिन्धुलीमा राजन दाहालबाहेक पनि सक्षम र चुनाव जित्न सक्ने धेरै नेताहरू रहेको उनको भनाइ छ।




















