काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।
मनोनयनपछि प्रतिक्रिया दिँदै बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएका हमलाबाट जोगाउँदै जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए।
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई साकार पार्ने विश्वास व्यक्त गरे। बस्नेतले एमाले एकल बहुमततर्फ अघि बढेको र त्यसका आधारहरू देखिन थालेको जिकिर गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता भन्दै उनले ओलीकै नेतृत्वमा नेपालका सान, मान अन्तर्राष्ट्रिय स्तरमा बढेको दाबी गरे। साथै उनले अन्य दलहरू स्थानीय उम्मेदवार नपाएर ‘टुरिस्ट उम्मेदवार’ अघि सारेको टिप्पणी गर्दै भक्तपुरमा त्यस्ता उम्मेदवारले जित्न नसक्ने दाबी गरे।
‘जनताले चिनेका र रुचाएका उम्मेदवारहरू मैदानमा छैनन्। अन्य दलका उम्मेदवारहरू हेर्दा पनि यसपालि एमालेप्रति सद्भाव राखेर नै उम्मेदवारी दिएको जस्तो देखिन्छ,’ बस्नेतले भने।




















