काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी प्रयोग गरी मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने प्रवृत्तिविरुद्ध सचेत हुन आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबाट राजीनामा दिएर झापा ५ बाट चुनाव लड्ने तयारी गर्दै मधेश प्रदेशको राजधानी जनकपुर पुगेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले यस्तो कार्य मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधी भएको बताएका छन्। उनले मधेशीलाई काठमाडौंबाट भगाउने होइन, काठमाडौंमै सुरक्षित राख्दै आत्मसम्मान दिलाउनु जरुरी रहेको जिकिर गरे।
राउतले लेखेका छन्, ‘नाजी प्रहरीजस्तै महानगर प्रहरी प्रयोग गरी लाखौँ मधेशीलाई लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिनौँ र सचेत होऔँ।’ उनले अन्त्यमा ‘जय मधेश, जय स्वराज’ भन्दै आह्वान गरेका छन्।




















