काठमाडौं । नेपाली कांग्रेस विभाजित भएपछि पार्टीका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएको अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेख्दै कांग्रेसभित्र बढ्दै गएको आरोप–प्रत्यारोप, असहिष्णुता र नैतिक विचलनले पार्टी मात्र होइन, मुलुककै लोकतान्त्रिक भविष्य जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्।
“एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो, तर यात्रु बोलाउँदै–बोलाउँदै रेल हिँडिसक्यो,” भन्दै भण्डारीले पार्टीभित्र सहकार्य र समन्वयको अवसर गुम्दै गएको संकेत गरेका छन्। यसरी अघि बढिरहे दुवै पक्ष यात्रुविहीन बन्न सक्ने उनको टिप्पणी छ।
पूर्व सभापतिद्वय कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र वर्तमान नेता शेरबहादुर देउवाबीचको कठिन समन्वयमा आफूले विगतमा भूमिका खेलेको स्मरण गर्दै भण्डारीले त्यतिबेला कहिल्यै नकारात्मक भावना नआएको उल्लेख गरेका छन्। तर आज चारैतिर ‘विकृति मात्र देखिएको’ उनको भनाइ छ।
डा. भण्डारीले नेपाली समाज र राजनीतिमा नैतिक शिक्षाको दिशामाथि प्रश्न उठाउँदै सत्य र असत्य छुट्याउने विवेक हराउँदै गएको बताए। “सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी,” उनले लेखेका छन्।
निर्वाचनको मुखमा देखिएको आन्तरिक टकरावलाई उनले ‘यदुवंशी विनाश’को संज्ञा दिँदै आफ्नै घर भत्काएर जनताको विश्वास जित्न सकिन्छ भन्ने भ्रम कसले रोप्यो भन्ने प्रश्न पनि उठाएका छन्।
उनले सत्य, अनुशासन र जिम्मेवारी विना न पार्टी बलियो हुने, न मुलुक र लोकतन्त्र सुरक्षित रहने स्पष्ट धारणा राखेका छन्। “समय अझै छ—एक पटक सोचौँ, विवेकमा फर्कौँ, विनाश होइन निर्माण रोजौँ,” भन्दै उनले सबैलाई आत्मसमीक्षा गर्न आह्वान गरेका छन्।
स्टाटसको अन्त्यमा भण्डारीले दोषी हामी सबै भएको स्वीकार गर्दै पार्टीभित्र संवाद, जिम्मेवारी र नैतिकतामा फर्किनु नै अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।
नेता भण्डारी गगन थापा पक्षले आयोजना गरेको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । तर उनी बन्दसत्र र नयाँ कार्यसमिति चयन प्रक्रियामा सामेल भएनन् । गगन पक्षले कार्यसमितिमा वस्न गरेको आग्रह पनि अस्वीकार गरेका थिए भने गगन र विश्वप्रकाश शर्मामाथि पार्टीले गरेको कारवाहीको प्रस्तावमा पनि असहमति जनाएका थिए ।



















