काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा भीषण दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
समाचार संस्था अलजजिराका अनुसार बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा दुर्घटना भएको हो। रेल बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको थियो।
उक्त स्थानमा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको बेला माथिबाट निर्माण कार्यमा प्रयोग गरिएको क्रेन भत्किएर मुनिबाट गुडिरहेको रेलमा खसेको बताइएको छ। क्रेनको ठक्करपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागीसमेत भएको अलजजिराका स्थानीय संवाददाताले जनाएका छन्।
प्रारम्भिक रूपमा मृतकको संख्या चार जनामात्र बताइए पनि पछि यो संख्या बढ्दै १२ पुगेको थियो। हाल थाई प्रहरीले दिएको पछिल्लो विवरणअनुसार मृतकको संख्या २२ पुगेको छ र अझै बढ्न सक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन्। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ भने आगलागी नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ।



















