काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बुधबार बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।
बन्दसत्रबाट गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । उक्त तालिकाअनुसार बाँकी रहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तन गरी बुधबार बिहान ८ बजेदेखि ९ बजेसम्मका लागि निर्धारण गरेको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका दुई प्रतिवेदन पारित गरिसकेको छ ।
यही पुस २७ र २८ गतेका लागि आह्वान भएको विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गतेदेखि सुरु भएको थियो । मंगलबार साँझसम्म सञ्चालन भएको बन्दसत्र महामन्त्री थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री शर्माको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।



















