विराटनगर । महानायक राजेश हमालले जननिर्वाचित सरकारको सट्टा चुनावी सरकार सञ्चालन हुनु लोकतन्त्रका लागि विडम्बनापूर्ण भएको बताएका छन्। झापाको बिर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै हमालले लोकतान्त्रिक व्यवस्थामा जननिर्वाचित सरकार नै अपरिहार्य हुने धारणा व्यक्त गरे ।
उनले आगामी निर्वाचनपछि जननिर्वाचित सरकार गठन हुने विश्वास व्यक्त गर्दै अहिले निर्णय गर्ने शक्ति जनसमुदायको हातमा रहेको बताए। “अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो,” उनले भने।
हमालले देश कस्तो बनाउने र विद्यमान समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्दै योग्य जनप्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिए। उनले विगतका शासकहरूप्रति मात्रै दोषारोपण गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै भने, “धेरैले पुरानाले केही गरेनन् भन्छन्, तर उनीहरूलाई छानेको पनि हामी नै होइनौँ र?”
उनले यसअघि सरकारको नेतृत्वमा पुगेका व्यक्ति पनि यही प्रणालीबाट आएको उल्लेख गर्दै प्रणाली सुधारमा जनसमुदायको प्रमुख भूमिका रहने बताए। “प्रणाली कस्तो छ भन्नेभन्दा पनि प्रणालीभित्र कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण हो,” उनको भनाइ थियो।
नयाँ राजनीतिक शक्तिहरूले ‘पुरानाले केही गरेनन्’ भन्ने अभिव्यक्ति दिँदै आउने प्रवृत्तिप्रति टिप्पणी गर्दै हमालले भने, “नयाँले पुरानाले गरेनन् भनेको सुन्दा मलाई त हाँसो लाग्छ। पुरानाले गरेनन् भन्नुभन्दा हामी यसरी गर्छौँ भनेर आउनुपर्छ।”
देशमा धेरै प्रकारका समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या एकैपटक समाधान गर्ने भन्दा पनि क्रमशः, सिँढी चढेजस्तै एक–एक गरी समाधान खोज्नुपर्ने बताए। “५ वा १० वर्षमा सबै समाधान गर्छु भन्ने आए भने ‘कसरी?’ भनेर सोध्नुपर्छ,” उनले भने।
अभिनेता हमालले कुनै पनि काम सफल बनाउन स्पष्ट योजना आवश्यक हुने उल्लेख गर्दै देश बनाउने र समस्या समाधान गर्ने दाबी गर्नेहरूसँग ठोस योजना माग्न जनसमुदायलाई आग्रह गरे। अरूले गरेनन् भनेर मात्र दोष दिँदै बस्दा देश नबन्ने उनको तर्क थियो।
अन्त्यमा उनले देश निर्माणका लागि समस्या देखेर चुप लागेर बस्न नहुने भन्दै सक्रिय नागरिक भूमिकाको आवश्यकता औँल्याए।




















