काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै महासचिव पोखरेलले आधुनिक नेपालको एकीकरणका महान् नायक पृथ्वीनारायण शाह तथा एकीकरण अभियानमा सहभागी सम्पूर्ण देशभक्तहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्।
उनले भाद्र २३ र २४ गते भएका राष्ट्रघाती गतिविधिले नेपाल राज्यलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्तो अवस्थामा राज्यप्रति नागरिकको भरोसा बलियो बनाउनु र राष्ट्रद्रोही शक्तिहरूलाई कडा सन्देश दिनु अत्यावश्यक भएको बताए।
महासचिव पोखरेलले वर्तमान विश्वव्यवस्था अस्थिर बन्दै गएको उल्लेख गर्दै स्वाधीन राष्ट्रहरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डता विश्वभर चुनौतीमा परेको बताएका छन्। कहिल्यै उपनिवेश नबनेको नेपालसमेत अहिले भूराजनीतिक द्वन्द्वको चपेटामा परेको उनको भनाइ छ।
“यस्तो अवस्थामा राष्ट्रियता र देशभक्तिको प्रश्नमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिनुपर्ने समय आएको छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
महासचिव पोखरेलले साम्राज्यवादी षड्यन्त्रप्रति सजग रहनुपर्नेमा जोड दिँदै आजको दिनमा ‘जेलेन्स्की’हरू जन्माउने प्रवृत्तिबाट नेपाल राष्ट्रलाई जोगाउने संकल्प गर्न सबैलाई आह्वान गरेका छन्।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाली समाजमा राष्ट्रिय एकता, स्वाधीनता र देशभक्तिको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।




















