काठमाडौँ । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो ।
यसअघि हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो ।
काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ। आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् – ६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको तथ्यांकले देखाएको छ । यस्तै हिजो सबैभन्दा कम अधिकतम तापक्रम भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस थियो ।
यसैगरी हिजो सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री सेल्सियस थियो ।




















