सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।
चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपर्याे। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।
बाल्यकाल निकै सङ्घर्षमा बिताउनुभएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उनी एउटा कुशल ट्र्याक्टर चालक बनिसकेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरणपोषण गर्ने थिएँ । कागजात नहुँदा ट्र्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।
“विवेकको आमाले सानैमा छाडेर गइन्”, विवेकका जिजूहजुरआमा अतिरुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।” विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखिन् ।
विवेककी हजुरआमा बोल्न सक्दिनन्। जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकिन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठूलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन– दुई दाजुबहिनीलाई । एकपटक जन्मदर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजुबहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।
विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्मदर्ता मागेको छ । तर, कसरी जन्मदर्ता बन्छ भन्ने केही थाहा छैन, उनले सुनाए । बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्मदर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे ।
अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उनले सुनाउनुभयो । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो थियो ।
निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाइलेखाइ गर्न नपाएका विवेकले ट्र्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्मदर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरे ।
विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्मदर्ताका विषयमा आफूले वडासचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले बताए । “कानुनले दिएको दायरमा रहेर उहाँहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु”, वडाध्यक्ष घिसिङले भने । (रासस)




















