काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकास बाह्य सहयोगमा मात्र निर्भर नभई नेपाली जनताको आफ्नै पौरख र श्रममा आधारित हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशको भरमा मात्र आश्रित रहेर देश विकास नहुने स्पष्ट पारेका हुन ।
“नेपाल पौरखी जनताको देश हो । तीन मिलियन नेपाली आज कामका लागि विदेशमा छन् । हामी काम गर्ने जाति भनेर चिनिएका छौँ,” उनले भने, “अरूले सहयोग गरेनन् भने पनि चीनजस्तो विशाल भूगोल र जनसंख्या भएको देश कसरी विकसित भयो भन्ने सोच्नुहोस् । डेढ अर्ब जनतालाई कसैले खाना खुवाइदिन्छ भन्ने त सम्भव नै छैन ।”
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चीनजस्तो देशले आत्मनिर्भर भएर विकास गरेको उल्लेख गर्दै नेपालले पनि आफ्नै स्रोत, श्रम र विवेकमा आधारित भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, “बाह्य सहयोग आवश्यक पर्छ तर त्यसले मात्र देश उठ्दैन । हामीले आत्मनिर्भर सोच अपनाउनुपर्छ, आत्मबलमा भरोसा गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले नेपालमा विकास सम्भव नहुनेजस्ता निराशावादी धारणाले मुलुकलाई पछाडि धकेल्ने बताए । “हाम्रो भूगोल, हाम्रो शक्ति र हाम्रो संस्कृति अनुकूल बनाएर अघि बढे देश विकास सम्भव छ,” उनले जोड दिए ।
राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न डर किन ?
कार्यक्रमकै क्रममा प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालमै पर्छ भन्ने अडान पुनः दोहोर्याए । उनले चितवनको माडीस्थित ठोरी क्षेत्रलाई रामको जन्मस्थल भएको दाबी गर्दै त्यसबारे प्रचारप्रसार गर्न नडराउन आग्रह गरे ।
“राम जन्मिएको कुरा हामी किन भन्न डराउँछौंरु साँचो बोल्दा को रिसाउँछ कि भनेर डराउनु हुँदैन,” उनले भने, “जसले भगवान रामलाई मान्दछ, उसका लागि जन्मभूमि पवित्र हुन्छ । अहिले त्यो भूभाग नेपालको हो, त्यसैले हामीले गर्वका साथ भन्नुपर्छ ।”
उनले यो दाबी धार्मिक ग्रन्थ वाल्मीकिकृत रामायण मा आधारित रहेको बताए । “वाल्मीकिकृत रामायणमा उल्लेख छ— विश्वामित्रले कोशी नदी तरेर पश्चिम गएर राम र लक्ष्मणलाई शिक्षा दिए । त्यसबाट स्पष्ट छ, ती भूभाग यहींका हुन्,” उनले बताए ।
ओलीले नेपालका धार्मिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसारमा सरकारले अझ सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए । उनले नेपाल पर्यटन बोर्डले विदेश गइरहनु नपर्ने, डिजिटल माध्यमबाट पनि अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकिने बताए ।




















