काठमाडौँ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको निष्कर्ष निकालेका छन् ।
शुक्रबार बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए ।
“माधव नेपाललाई अख्तियारले मुद्दा दायर गरेको विषयमा प्रथम दृष्टिमा हेर्दा पूर्वाग्रह नै देखिन्छ,” उनले भने, “पूर्वाग्रह नै भएको बैठकको निष्कर्ष निकालेकोले यसबारे थप बुझ्ने कुरा भएको छ।”
बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायतका नेताहरू सहभागी थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालमाथि पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा दिने र त्यही जग्गा तत्कालै बेचबिखनको अनुमति दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लगाएको छ।




















