जनकपुर । जनकपुर बिग मार्टमा गए राति आगलागी हुँदा १० करोड भन्दा माथिको क्षति भएको सञ्चालकको दावी छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको बताइएको छ ।
सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताउँदै मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको दाबी गरेका छन् ।
मार्टको दोस्रो तल्लमा बसिरहेका सञ्चालक राय दम्पतीले भागेर ज्यान बचाएको बताइएको छ ।



















