काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ। ऐन लागू भएसँगै अब जथाभावी पशु बध गर्न र जाँचबिनै मासु बिक्री गर्न पाइने छैन।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २१ स्थानीय तहमा पहिलो चरणअन्तर्गत ऐन कार्यान्वयनमा ल्याइएको हो।
ऐन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले जानकारी दिए।
अव्यवस्थित स्थानमा पशु बध गरी अस्वस्थ मासु उपभोक्तासम्म पुग्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले ऐन कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिकाअनुसार आजदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा ऐन कार्यान्वयन सुरु गरिएको हो।
ऐन कार्यान्वयनमा आएसँगै पशु बध, मासु जाँच तथा बिक्री वितरणलाई व्यवस्थित र नियमन गर्ने सरकारी तयारी छ।




















