काठमाडौं । भारी हिमपातपछि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ बाट ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
शनिबार भएको भारी हिमपातका कारण पर्यटकहरू बाटोमै फसेको हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरू सम्पर्कविहीन भएको जानकारी शनिबार राति जिल्ला प्रशासन कार्यालय डोल्पामा प्राप्त भएको थियो ।
सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारसहित ६ जना भारतीय नागरिक रहेका छन् । उनीहरूमध्ये दुई महिला र एक पुरुषको नाम खुले पनि बाँकी तीन जनाको विवरण प्राप्त हुन सकेको छैन ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत खोजी तथा उद्धार गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार सम्पर्कमा समस्या भएका कारण सम्पर्कविहीन पर्यटकहरूको पूर्ण विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


















