सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्ममा गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा चालकको सतर्कताले २१ यात्रुको ज्यान जोगिएको छ। गाडीमा सवार तीन बालबालिकासहित सबै यात्रु सकुशल बाहिर निस्किए पनि गाडी र यात्रुका सामान जलेर नष्ट भएका छन्।
बुधबार अपराह्न करिब ४ बजे खाडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पतालको उकालोमा सुर्खेतबाट नाग्मतर्फ जाँदै गरेको भे १ ख ४०९४ नम्बरको गाडीमा आगलागी भएको हो। इन्जिन तातिएपछि गाडीमा आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गाडीमा धुवाँ देखिनासाथ चालक चन्द्रदेव मगरले यात्रुलाई तत्काल बाहिर निस्कन आग्रह गरेका थिए। चालकको सतर्कताका कारण सबै यात्रु सुरक्षित बाहिर निस्कन सफल भए र सम्भावित मानवीय क्षति टरेको छ।
आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट १५ जना प्रहरीको टोली चारवटा आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो। प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।
घटनाका प्रत्यक्षदर्शी विपिन शाहीले गुडिरहेको गाडीमा आगलागी भएको घटना आफूले पहिलोपटक देखेको बताएका छन्।
गाडीमा सवार एक यात्रुका अनुसार चालकले आगलागीबारे जानकारी गराएलगत्तै सबै यात्रु बाहिर निस्किएका थिए। गाडी तीव्र गतिमा चलाइएका कारण इन्जिन तातिएको हुन सक्ने ती यात्रुको अनुमान छ।



















