धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पीडित किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट र यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पीडित बेलौरी नगरपालिका–९, रतनपुरका बासिन्दा हुन्।
पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले उनीहरू पक्राउ परेको जानकारी दिए।
प्रहरीका अनुसार पाँचै जनाले असोज २३ गते साँझ स्थानीय खजुवा जंगलमा किशोरलाई पुर्याएर खुकुरी देखाउँदै धाकधम्की दिनुका साथै कुटपिट गरेका थिए।
पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















