विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसीम अन्सारी रहेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूविरुद्ध जाहेरी परेको थियो। केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा पुगेर दम्पतीले भिडियो बनाएका थिए। उक्त भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि सामाजिक सञ्जालमा विषय चर्चामा आएको थियो।
सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत यस विषयमा प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध जाहेरी दिएको बताइएको छ।
यता पक्राउ पर्नुअघि दम्पतीले भिडियोमार्फत आफूहरू मन्दिरको मुख्य गर्भगृहभित्र प्रवेश नगरेको दाबी गरेका थिए। उनीहरूका अनुसार मूल ढोकाबाट भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले भर्याङबाटै फर्काइदिएका थिए।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको र श्रीमान्लाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी छन्।
अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा रहेको बताइएको छ।



















