काठमाडाैं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अन्य क्षेत्रमा आंशिक बदली छ।
गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका अधिकांश भूभागमा पनि आंशिक बदली रहने अनुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी तथा तराई भूभागमा साधारणतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली क्षेत्रमा पनि सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिमको तराई भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा बिहानीपख हुस्सु लाग्ने सम्भावना समेत रहेको छ।




















