काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप मजबुत बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका हुन्।
पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताउँदै ओलीले भने, ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ। सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भएर अघि बढ्नुपर्छ।’
उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको दाबी थियो।
ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।
एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे। ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने।
एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै ओलीले सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए। पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उनले आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनमा ध्यान दिनसमेत निर्देशन दिए।
भर्चुअल बैठकमा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए। पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने उनले बताए।
पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई एमालेसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ। लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उनले बताए।
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने महासचिव पोखरेलको भनाइ थियो।
बैठकमा एमाले उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताको सहभागिता थियो।




















