काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफू, रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गतिविधिमाथि सुराकी गरिरहेको दाबी गरेका छन्।
प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा सिंहले आफूले पाएको जानकारीका आधारमा सरकारले नेताहरूको पछाडि सुराकी खटाएको दाबी गरेका हुन्। उनका अनुसार राज्यको सुराकी संयन्त्र राजनीतिक नेताको निगरानीभन्दा आपराधिक गतिविधि नियन्त्रणमा प्रयोग हुनुपर्ने हो।
‘चाहे अमरेश सिंह होस्, चाहे रवि लामिछाने होस् वा प्रचण्ड। जो बोल्छ, उसको पछाडि सुराकी आइहाल्छ,’ उनले भने, ‘राज्यको सुराकी संयन्त्र त कुनै आपराधिक गतिविधिको पछाडि हुनुपर्ने हो।’
आफ्नो मात्रै नभई रास्वपा सभापति लामिछानेको पछाडि पनि सुराकी लगाइएको आफूलाई जानकारी रहेको सिंहको दाबी छ। राजनीतिक गतिविधिका क्रममा आफूले विभिन्न दलका नेता तथा आफ्नै पार्टीका नेतासँग भेटघाट गर्नु स्वाभाविक भएको उनको भनाइ थियो।
पक्राउ परे पनि सामना गर्न तयार
सरकारले आफू र रवि लामिछानेलाई पक्राउ गर्न सक्ने सम्भावनासम्बन्धी प्रश्नमा सिंहले आफूहरू त्यसका लागि तयार रहेको बताए।
‘हामी तयार छौँ, जुनसुकै परिस्थितिका लागि तयार छौँ,’ उनले भने, ‘हामी देशको संविधान र लोकतन्त्रको रक्षाका लागि छौँ। कुनै पनि हुकुमी शासनको मतियार बन्दैनौँ।’
सिंहले आफू जनताबाट निर्वाचित भएर साक्षी किनारामा बस्न नभई संविधान र लोकतन्त्रको पक्षमा बोल्न आएको दाबी गरे।
उनले सरकार असफल होस् भन्ने आफ्नो चाहना नरहेको पनि बताए। ‘मेरो पार्टीको सरकार छ, म चाहन्छु सरकार सफल होस्। तर आफ्नै कारणले सरकार असफल भयो भने म केही गर्न सक्दिनँ,’ उनले भने।
चोलेन्द्र पक्राउबारे पनि प्रश्न
अन्तर्वार्ताका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिइएको विषयमा पनि सिंहले सरकारको आलोचना गरे।
उनले गम्भीर अपराध वा कानुनको गम्भीर उल्लंघनको अवस्था नरहेको भए कुनै पनि नागरिकलाई मध्यरातमा पक्राउ गर्न नहुने बताए। राणामाथि गरिएको धरपकडले विभिन्न क्षेत्रका नेता तथा व्यक्तिलाई त्रास सिर्जना गर्ने प्रयास भएको उनको दाबी थियो।
सिंहले प्रधानमन्त्री शाहले हुकुमी शासन चलाउन खोजेको आरोप लगाउँदै कोही पनि संविधानभन्दा माथि नरहेको बताए।
‘न राष्ट्रपति संविधानभन्दा माथि छन्, न प्रधानमन्त्री, न सांसद र न आम नागरिक,’ उनले भने, ‘सबै संविधानको मर्यादाभित्र रहनुपर्छ।’
सिंहले संविधानमाथि हस्तक्षेप गर्ने प्रयास भए मुलुक दुर्घटनातर्फ जान सक्ने चेतावनीसमेत दिए।




















