काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
उनले तत्काल दुईतर्फी यातायात सञ्चालनमा ल्याउन समस्या रहेको जानकारी दिए। थप पहिरो नखसेमा आजैदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आउने उनले बताए।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण रोकिएका सवारीसाधन एकतर्फी बाटो खुलेसँगै गन्तव्यतर्फ जान थालेका छन्।




















