काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि सुरु भएको वर्षा आज र भोलि पनि जारी रहने मौसमविद्हरूले बताएका छन् ।
मौसमविद्हरूका अनुसार आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले देशभर सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा तथा लुम्बिनी प्रदेशको विशेषगरी महाभारतदेखि तल्लो भेगमा वर्षा केन्द्रित हुने सम्भावना रहेको छ। कोशी प्रदेशतर्फ भने वर्षाको तीव्रता तुलनात्मक रूपमा केही कम हुने उहाँको पूर्वानुमान छ ।
वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत उहाँहरूले आग्रह गर्नुभएको छ ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा भएको छ । कन्याममा ११४ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, इलामकै जितपुरमा ९१ मिलिमिटर वर्षा भएको छ ।
काभ्रेको रोशीमा ९७.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर र सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।




















