काठमाडौँ । सप्तरीमा प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फतेपुरस्थित भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी कुल ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















