धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी ३८८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। नापजाँच र नक्साङ्कन सकिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन। रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले ३८८ थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
लालपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न तथा भूमिसम्बन्धी विवाद समाधान गर्न सहज हुने भएको छ। साथै, जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।
यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको जनाइएको छ।



















