काठमाडौँ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान अढाई घण्टाको अन्तरमा दुईपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कालाइ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पहिलो भूकम्प राति १:५१ बजे र दोस्रो भूकम्प बिहान ४:२८ बजे गएको हो।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार पहिलो भूकम्प ४.५ म्याग्निच्युड र दोस्रो ४.२ म्याग्निच्युडको थियो।
उनका अनुसार एउटै क्षेत्रमा छोटो अन्तरमा दुईवटा भूकम्प गएको भए पनि यी दुवै भूकम्पबाट ठूलो क्षति हुने सम्भावना कम हुन्छ। यद्यपि भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आवश्यक रहेको उनले बताए।
डा. अधिकारीका अनुसार ठूला भूकम्पपछि त्यस क्षेत्रमा साना परकम्पहरू जाने गर्छन्। ४ म्याग्निच्युडको भूकम्प गएको क्षेत्रमा त्यसपछि ३, २ र १ म्याग्निच्युडसम्मका कैयौँ परकम्प जान सक्ने उनले बताए।
गत साता मुस्ताङमा गएको भूकम्पपछि मात्रै करिब २० देखि २२ वटा परकम्प गइसकेको अधिकारीले जानकारी दिए।




















