काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
हाल कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
देशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि मौसममा उल्लेख्य सुधार नहुने पूर्वानुमान छ। देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



















