काठमाडौं । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएको हो। हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ।
पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ।
दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिइन्।
यसैगरी, तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उनले बताइन् ।
पिङ्गलास्थानतर्फबाट जाने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने प्रबन्ध मिलाइएको छ।
यसअनुसारको दर्शन व्यवस्था मिलाउँदा मन्दिर बाहिर पाँच वटा लाइन रहने छन्। मन्दिर परिसर प्रवेश गरिसकेपछि आठ वटा लाइनमा विभाजन हुने पनि कोषले जनाएको छ। एकपटकमा ८ जना भक्तजनले दर्शन गर्नसक्ने गरी मूल मन्दिर परिसरमा व्यवस्था मिलाइएको छ। सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिनेछ। सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिनेछ।
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि नै सादा पोशाकका प्रहरी खटाइसकिएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिँदै छन्।
बहुमूल्य गरगहना नलगाई आउन भक्तजनमा आह्वान
शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ। पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएको धेरै भक्तजनबीचमा विभिन्न उद्देश्यले आउने मानिससमेत हुने भएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ। साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन पनि आह्वान गरिएको छ।
सवारी पार्किङ कहाँ छ ?
दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ।
जुत्ताचप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडा मुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मती पारि राममन्दिरको मुनिलगायत स्थान छुट्याइएको छ। नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ।
दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ।




















