विराटनगर । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमास्थित कल्भर्टमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो।
रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी थिए। उनी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का स्वकीयका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत थिए। उनले केही समयअघि मात्र पदबाट राजीनामा दिएका थिए।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालका अनुसार दुर्घटना राति करिब २ बजे भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारका क्रममा उनीहरूलाई बिहान करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















