गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा आएको बाढीले दुई वटा पुल र दुई वटा जलविद्युत् आयोजना बगाएको छ। बाढी र पहिरोका कारण चुमनुब्रीवासीको आवागमन तथा विद्युत् सेवा प्रभावित भएको छ।
स्थानीय लाक्पा डुण्डुप लामाका अनुसार बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले मनास्लु पदमार्गमा पर्ने दुई वटा पुल बगाएको हो। पहिरोसहित आएको बाढीले स्थानीयले प्रयोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको उनले बताए।
थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ। त्यसैगरी बाढीका कारण बूढीगण्डकी नदीको बहाव बढ्दा नाम्रुङभन्दा तल जंगल क्षेत्रमा रहेको अर्को पुलसमेत बगेको जनाइएको छ।
“बाढीपहिरोले हामीलाई जोखिममा पार्यो,” लामाले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो। कतै जान पनि नमिल्ने भयो।”
बाढीले १०० किलोवाट क्षमताको नयाँ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ। करिब सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरी परीक्षण प्रसारण सुरु गरिएको उक्त आयोजना बाढीले बगाएको स्थानीयले बताएका छन्।
त्यस्तै, यसअघि नै सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको अर्को लघुजलविद्युत् आयोजना पनि बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
“एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो, त्यो पनि लग्यो,” लामाले भने, “अर्को पहिल्यैदेखि बलिरहेको २२ किलोवाटको जलविद्युत् थियो, त्यो पनि नामेट पारेर लग्यो। आवतजावत र विद्युत् ठप्प हुँदा जनजीवन समस्यामा परेको छ।”
विद्युत् सेवा अवरुद्ध हुँदा बत्ती बाल्नेदेखि सञ्चार सेवा र विद्युत्बाट सञ्चालन हुने अन्य सेवासमेत प्रभावित भएका छन्। पुल बगेपछि भर्खर सुरु हुन लागेको मनास्लु क्षेत्रको पर्यटक आवागमनसमेत प्रभावित भएको छ।
लार्केपासका लागि त्यस क्षेत्रमा पुगेका सयौँ पर्यटक बूढीगण्डकीमाथिको पुल बगेपछि समस्यामा परेको स्थानीयले बताएका छन्।
यसैबीच, बाढीपहिरोले राति स्थानीय चार जनाको घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले बगाएको हो।
वडाध्यक्ष पेमाग्याल्बो लामाका अनुसार राति बाढी आउँदा गाउँ नै भूकम्प आएजसरी थर्किएको थियो। आवाज सुनेपछि स्थानीय बासिन्दा जागेका थिए।
“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ। सबै बिउँझिएछन्। अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” उनले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो।”
बाढीबाट घर गुमाएका चार परिवारलाई तत्काल राहत उपलब्ध गराउने वडाध्यक्ष लामाले बताए। उनका अनुसार तत्काल खाद्यान्न र लत्ताकपडाका लागि प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत दिइनेछ। केही दिनभित्र गाउँपालिकाका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने तयारीसमेत गरिएको उनले जानकारी दिए।
अन्य निकाय तथा संघसंस्थाबाट थप राहत उपलब्ध गराउन पनि पहल गरिने उनले बताए।




















