काठमाडौं । पञ्चकन्या समूहले भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको जनाएको छ।
पञ्चकन्या समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ सहयोग गरिएको हो। यस्तै, पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउने तयारी गरिएको छ।
यसैगरी समूहमा कार्यरत कर्मचारीहरूले पनि बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ सहयोग गरेका छन्। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र शाहुले कर्मचारीहरूबाट उक्त रकम सहयोग भएको जानकारी दिए।
पञ्चकन्या समूहले यस वर्ष आफ्नो स्थापनाको ५५औँ वार्षिकोत्सव पनि कुनै औपचारिक कार्यक्रम नगरी मनाएको जनाएको छ। समूहका अनुसार विपद्का कारण नागरिकले भोगिरहेको पीडाप्रति संवेदनशील हुँदै वार्षिकोत्सवका कार्यक्रम स्थगित गरिएको हो।
देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू गम्भीर रूपमा संवेदनशील रहेको भन्दै समूहले राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो सामाजिक जिम्मेवारी भएको जनाएको छ।
यसैबीच, पञ्चकन्या समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पञ्चकन्या स्टिल उद्योग परिसरमा बुधबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
महाप्रबन्धक शाहुले बाढी तथा अन्य विपद्का कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले कार्यक्रममा सहभागी भएर रक्तदान गर्न सबैलाई आग्रह गरेका छन्।



















