काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । विभिन्न जिल्लामा फेला परेका शव तथा प्रहरीको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या ९५ पुगेको हो ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा बाढीमा परी मृत्यु भएकाहरूको शव फेला परेको छ । तीमध्ये महिला, पुरुष तथा बालबालिकासहित केही शवको पहिचान खुल्न बाँकी छ ।
रसुवामा एक पुरुषको शव फेला परेको छ । नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव भेटिएको छ । धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ ।
त्यस्तै तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
६३ जना उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।
२८ प्रहरी सम्पर्कविहीन
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।
नेपाल प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट आठ जना, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना प्रहरी सम्पर्कविहीन भएका छन् ।
बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



















