धादिङ । रसुवातर्फबाट त्रिशूली नदीमा आएको बाढीले धादिङका तीनवटा मोटरेबल पुल बगाएपछि ग्रामीण क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ। बाढीले गजुरी गाउँपालिका-२ र सिद्धलेक गाउँपालिका-६ जोड्ने फुर्केखोला पुल, गजुरी-५ र सिद्धलेक-७ जोड्ने घाटबेसी पुल तथा गजुरी-६ र सिद्धलेक-७ जोड्ने जरेखेत पुल बगाएको हो।
पुलहरू बगाएपछि फुर्केखोला,घाटबेसी र आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम धादिङबेँसी आवतजावतमा समस्या भएको छ। बुधबार बिहान आएको बाढीपछि ती क्षेत्रमा सडक सम्पर्कसमेत प्रभावित भएको हो।
यता त्रिशूली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी गाउँपालिका-६ स्थित बैरेनी बजारमा पसेपछि बजार क्षेत्र जलमग्न भएको छ। हालसम्म गल्छी,जिन्टेटार, मासटार र बेनिघाटका पुल भने सुरक्षित रहेको बताइएको छ। बाढीबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको छ।




















