काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले देशको निजी क्षेत्र तथा व्यवसायीको मनोबल आफ्नो ३६ वर्ष लामो व्यावसायिक अनुभवकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।
१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको, बजार शिथिल बनेको र उद्योग–व्यवसाय सञ्चालनमा कठिनाइ बढेको बताएका हुन्।
‘मेरो ३६ वर्षको करियरको अनुभवमा अहिले व्यवसायी सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु,’ उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालन गर्न कठिन छ र व्यवसायी अप्ठ्यारो अवस्थामा छन्। व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ।’
श्रेष्ठले नयाँ सरकारले बजेटमार्फत व्यक्त गरेका आर्थिक प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न नसकेको आरोप लगाए। सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने, अर्थतन्त्रलाई १ सय अर्ब डलरको बनाउने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको भए पनि त्यसअनुसारको कार्यान्वयन र रणनीति नदेखिएको उनको भनाइ थियो।
‘बजेटमा अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ, तर बजेटका घोषणा कार्यान्वयनको दिशामा अघि बढ्न सकेका छैनन्,’ उनले भने।
अर्थतन्त्रलाई अहिले पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउने र उद्योग–व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
अटोमोबाइल क्षेत्रको योगदानबारे चर्चा गर्दै उनले गत आर्थिक वर्षमा यस क्षेत्रमा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात भएको र त्यसबाट सरकारले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक प्रस्तुत गरे।
कुल करिब १२ खर्ब रुपैयाँ राजस्वमध्ये अटोमोबाइल क्षेत्रबाट मात्रै ८१ अर्ब रुपैयाँ योगदान भइरहेको उल्लेख गर्दै उनले यति ठूलो राजस्व योगदान गर्ने क्षेत्रप्रति सरकारको स्पष्ट नीति र प्राथमिकता आवश्यक रहेको बताए।
श्रेष्ठले अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापन गर्न स्वदेशमै उद्योग स्थापना र उत्पादन विस्तारमा जोड दिनुपर्ने धारणा राखे। त्यसका लागि राज्यबाट आवश्यक संरक्षण र प्रोत्साहन हुनुपर्ने उनको भनाइ थियो।
‘कतिपय उद्योग खुलेका छन्, तर सरकारले उनीहरूको समस्या बुझ्न र समाधान गर्न पर्याप्त ध्यान दिएको छैन,’ उनले भने।
वर्तमान सरकारले लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनमा ल्याउन चासो देखाएकोप्रति टिप्पणी गर्दै उनले सञ्चालनमै रहेका उद्योगको संरक्षण र प्रवर्द्धनमा पनि उत्तिकै ध्यान दिन सरकारलाई आग्रह गरे।
‘दशकौँदेखि बन्द उद्योग खोल्ने प्रयास भइरहँदा अहिले चलिरहेका उद्योगको अवस्था कस्तो छ भन्नेमा पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘भुइँको टिप्दा पोल्टाको नखसोस् भन्नेमा सरकार सचेत हुनुपर्छ।’




















