काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नाडाको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका हुन्। नाडाले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यस प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधन गरी ५३ ब्रान्डको सहभागिता रहेको छ।
आयोजकका अनुसार सहभागी ब्रान्डहरूले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्।
यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ। नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डसँगै एउटै प्रदर्शनीमा स्थान दिइनुले नेपालको अटोमोबाइल उद्योगमा बढ्दो स्वदेशी उत्पादन क्षमतालाई उजागर गरेको आयोजकको भनाइ छ।

प्रदर्शनीमा विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई समेत विशेष प्राथमिकता दिइएको छ। यसका लागि ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियन स्थापना गरिएको छ।
उक्त प्याभिलियनमा नेपालमा उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्री प्रदर्शन गरिएका छन्। नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन्।
त्यहाँ विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने नेपाली कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेका छन्। यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकको सहभागिता रहेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताएका छन्।
उनले भने, ‘हामीले दिन खोजेको सन्देश यही हो, नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन। हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ बढिरहेका छौँ।’
उनका अनुसार नाडाको पाँच दशकको यात्रामा नेपालमा सवारीसाधनको बिक्री, खरिद र सर्भिसिङमा मात्र नभई पार्टपुर्जा आपूर्तिदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन्।

नाडाका अनुसार पाँच दशकअघि सवारी व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले सवारी बिक्री गर्ने व्यवसायीको मात्र नभई सवारी एसेम्बल गर्ने, वित्तीय सुविधा उपलब्ध गराउने, बीमा गर्ने, मर्मतसम्भार गर्ने तथा पार्टपुर्जा आपूर्ति गर्ने व्यवसायीको समेत प्रतिनिधिमूलक संस्था बनेको छ।
यसपटकको अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन्।
त्यस्तै, लाइट कमर्सियल सवारीतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्सलगायतका ब्रान्डको सहभागिता रहेको छ।
दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्ड प्रदर्शनीमा राखिएका छन्।
अटो शोमा सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स तथा ग्यारेज उपकरणसम्बन्धी गरी २०० भन्दा बढी स्टल रहेका छन्। प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ तथा इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अटो शोमा सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपमार्फत अनलाइनबाट समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन, सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ।
विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारी र अटोमोबाइल सामग्रीलाई एउटै मञ्चमा स्थान दिइएकाले नेपालको अटोमोबाइल बजार आयातमा मात्र सीमित नरही उत्पादन र स्वदेशी उद्यमतर्फ समेत अघि बढिरहेको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।




















