काठमाडौं । उदयपुरमा बसले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान बेलका नगरपालिका–५ जहडामा भएको दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये दुई जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रहरीका अनुसार सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.५–००१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को.१ ख ३५१६ नम्बरको बसले ठक्कर दिएको थियो।
मृत्यु हुनेमा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर रहेकी छन्। दुर्घटनामा मृत्यु भएकी अर्की एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुवै जनाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा अस्पतालमा राखिएको छ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगर, सोही ठाउँका १८ वर्षीय रोशन मगर र मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन्।
घाइतेमध्ये अटो चालक इन्द्र थापा मगर र रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।
उदयपुरमा प्रारम्भिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
दुर्घटनापछि बस चालक बेलका नगरपालिका–५ घुम्ने बस्ने करिब ३६ वर्षीय विक्रम थापालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















