उदयपुर । उदयपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक टिपर चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट करिब १९९ किलो गाँजासहित टिपर चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो।
गाँजा फेला परेपछि टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी घर भई हाल कटारी नगरपालिका–४ बस्दै आएका करिब २१ वर्षीय सोम मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक र बरामद गरिएको गाँजासहितको टिपरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















