विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन यही भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।
उनले २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । यस्तै, कार्कीले एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए ।
हाल ९२ सदस्य कायम रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन भई गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिइसकेका छन्।

















