नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालकलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भागरकी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो।
बालक हराएपछि स्थानीय बासिन्दा र छरछिमेकीले वन क्षेत्रमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन्। त्यसपछि घटनाबारे इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो।
बालकको खोजीका लागि स्थानीयवासीसँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासकै क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको थियो।
दुई दिनपछि वन क्षेत्रमा सकुशल फेला परेका बालकलाई उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालक कसरी घरबाट वन क्षेत्रमा पुगे र दुई दिनसम्म त्यहाँ कसरी रहे भन्ने विषय भने खुल्न सकेको छैन।

















