काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिदसँग सम्बन्धित विषय हाल विस्तृत अनुसन्धानको क्रममा रहेको जानकारी दिएका हुन्।
उनका अनुसार सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणमा आयोगले अनुसन्धान अघि बढाइरहेको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीन वटा उजुरीमाथि पनि विस्तृत अनुसन्धान भइरहेको मैनालीले बताए।
बैठकमा उनले रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित एक विषयमा अनुसन्धान पूरा गरी मुद्दा दायर भइसकेको जानकारी दिए।
मैनालीका अनुसार आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षमा अदालतबाट फैसला भएका मुद्दामध्ये ७० प्रतिशतभन्दा बढीमा कसुर कायम भएको छ।
विशेष अदालतबाट आरोप पुष्टि नभई सफाइ पाएका मुद्दामा भने आयोगले आवश्यकताअनुसार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको पनि उनले जानकारी दिए।




















