म्याग्दी । यहाँको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ मा समावेश भएको यस योजना बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्न लागिएको हो । यसका लागि जनप्रतिनिधि र उपभोक्ताहरूको उपस्थितिमा सर्वेक्षण थालिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँलगायत प्राविधिकहरू, मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्री, वडा सदस्य गुप्तबहादुर रोका, स्थानीय अगुवा चन्द्रप्रसाद बुढाथोकी, प्रेम मगरसहित प्रभावित क्षेत्रका बासिन्दाको उपस्थितिमा सर्वेक्षण भएको छ ।
एक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदका सिफारिसमा रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का लगाउने गण्डकी प्रदेश सरकारको नीतिअनुसार प्रदेश सभा सदस्य जुग्जालीको सिफारिसमा चालु आवका लागि यस सडक आयोजना सिफारिस भएको छ ।
रु एक करोड बजेट विनियोजन भएको यस आयोजनाका लागि प्रदेश सरकारले रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का लगाउने तयारी भएको उनले जानकारी दिए । “म्याग्दीको रणनीतिक महत्वको र बागलुङ जिल्लासँग जोडिने पुरानो सडक भएकाले अप्ठ्यारो ठाउँमा सुधार गर्ने उद्देश्यले योजना छनोट गरिएको हो”, उनले भने, “यस सडकमा आव २०७९–८० मा पनि प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रममार्फत रु एक करोड बजेट विनियोजन भएर स्तरोन्नति भएको थियो ।”
यस वर्षको बजेट र कार्यान्वयन हुने योजनामार्फत माटेबगर–पोक मोटरेबल पुल अगाडिको घुम्तीदेखि पोकसम्म, नेटाको घुम्ती, खोलाखर्क र अर्मन क्षेत्रको अप्ठ्यारो ठाउँमा ग्रेड तथा मोड सुधार, नाली निर्माण, ग्यावियन पर्खाल निर्माण र ढलान गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख बानियाँले बताए ।
सर्वेक्षणका आधारमा लागत अनुमान तयार पारिने र अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गर्ने उनले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडाध्यक्ष खत्रीले ओझेलमा परेको तर महत्त्वपूर्ण सडक योजनालाई प्राथमिकता दिएर योजना भित्र्याउन पहल गरेकामा सांसद जुग्जालीलाई धन्यवाद दिँदै योजनालाई गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गरी प्रभावकारी बनाउन सहजीकरण गर्ने बताए ।
विसं २०६४ मा मार्ग खुलेको यो सडकको पोक–गहते खण्डमा आधारभूत सुधारको काम भए पनि प्रवेशबिन्दु र नेटा–अर्मन–किमचौर–ताराखोला खण्ड कच्ची र ग्रेड तथा मोड नमिलेका कारण यात्रा गर्न असहज हुने गरेको छ । बजेटले पुगेसम्म अहिले स्तरोन्नति गरिने र बाँकी ठाउँमा पनि स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने सांसद जुग्जालीले बताए ।


















